११ बैशाख, काठमाडौं । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन् ।
अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए ।
हाल स्टक रहेको अक्सिजनले दुई महिना मात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ ।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन् ।
कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन् ।
पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा।बुढाथोकीले बताए ।
व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ ।
सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ ।
यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।