बिराटनगर, माघ २२
बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनामा इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु भएको छ । बिराटनगर–९ स्थित मदरटेरेसा स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ । प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी १५० जना खेलाडीहरु सहभागि रहेका छन् ।
बिराटनगर महानगरपालिका मेयर भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै दुई देशीय सम्बन्धलाई अझ दरो बनाउनका लागि यस्ता खालका प्रतियोगिताले अझ बल पुर्याउने बताए । उनले समृद्ध नेपाल निर्माणको लागि खेल पनि एक प्रमुख बाहक भएकाले नयाँ खेलको बिकास विस्तारका योजनाहरुमा महानगरपालिका सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रममा फेडेरेशनका अध्यक्ष संजयकुमार यादवले बिद्यार्थीहरुलाई खेलको माध्यमबाट आपसी आत्मीयता, अनुशासन र नयाँ खेलका प्राबिधीक पक्षको ज्ञानका लागि यस्ता प्रतियोगिताहरुको आयोजना गरिएको बताए । उनले दुई देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालमा प्रख्यात खेलहरुलाई बिश्वव्यापी बनाउने र बिश्वमा विकास भएका नयाँ खेलहरुलाई नेपालमा बिस्तार गराउन अन्तर देशीय खेलकुद प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तता दिने बताए ।
प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु संचालन हुने आयोजक सदस्य अमिष रेग्मीले बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, प्याब्सन महानगर कमिटी बिराटनगरका अध्यक्ष इन्द्र राई लगायत तथा भारतका हनुमन्त राव, गौरी शंकर, अंकित जैन, संगिता कुमारी लगायतको उपस्थिती रहेको थियो । इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता पहिलो पटक विराटनरमा आयोजना गरिएको हो ।