२७ कात्तिक, काठमाडौं । चीनको इ कमर्स कम्पनी अलिबाबाले एकैदिन ७४ अर्ब डलर अर्थात नेपाली ८८ खर्ब रुपैयाँको व्यापार गरेको छ ।
नोभेम्बर ११ अर्थात सिंगल ’डे’ को अवसरमा हिजो अलिबाबाले ४ सय ९८ दशमलव २ बिलियन यूआन अर्थात् ७४ अर्ब डलरको व्यापार गरेको हो । जुन नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको दुई गुणाभन्दा धेरै हो ।
अलिबाबाले एकैदिन गरेको ७४ अर्ब डलरको व्यापार अहिलेसम्म कुनै पनि कम्पनीले एकै दिन गरेको व्यापारमध्ये सबैभन्दा धेरै रहेको निकेइ एसियाले जनाएको छ । नोभेम्बर ११ लाई अलिबाबाले सिङ्गल ’डे’ को रुपमा व्यापार गर्दै आएको छ ।
अलिबाबाले गरेको यो व्यापार पश्चिमा देशमा हुँदै आएको ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै जोड्दा पनि धेरै हुन आउँछ । अलिबाबाले सिङ्गल ’डे’ मा अमेरिकामा मात्रै ५ अर्ब डलरको व्यापार गरेको छ । अलिबाबाबाट सामान किन्नको लागि बुधबार बेलुका हरेक सेकेन्डमा ५ लाखभन्दा धेरै अर्डर प्राप्त भएका थिए ।
अलिबाबाले गएको वर्षको सिङ्गल ’डे’ भन्दा यो वर्षको सिङ्गल ’डे’ मा २६ प्रतिशत धेरैको व्यापार गरेको जनाएको छ ।