विराटनगर,असार १०
माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिए पनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् ।
फेल र पासको व्यवस्थाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो भनेर सरकारले ‘कोही पनि फेल नहुने’ नीति लागू गरेको बताए पनि यसले विद्यार्थी र अभिभावकलाई अन्योल बढाएको छ । शिक्षाविदहरु त पास भइहालिन्छ भन्ने भ्रमका कारण विद्यार्थीले मेहनत नै नगरेको पाइएको पनि बताएका छन् ।
१ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान भए पनि यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्छ । जस्तो विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ ।
यस्तै, समग्रमा १ दशमलव ६ जीपीए आएकाले व्यवस्थापन संकायमा ११ कक्षा भर्ना हुन पाउने भए पनि त्यसका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा डी प्लस जीपीए ल्याएकै हुनुपर्छ ।
त्यसैगरि, मानविकी संकाय पढ्न कम्तिमा १ दशमलव ६ जीपीएसम्म ल्याएका विद्यार्थीले पाउँछन् तर उनीहरुले अनिवार्य विषय अंग्रेजी, नेपाली, र सामाजिकमा डी प्लस आएकै हुनपर्छ । यस्तै अंग्रेजी, नेपाली समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास विषय पढ्न समग्रमा कम्तीमा १ दशमलव ६ जीपीएका साथमा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड ल्याउनैपर्छ । विज्ञान र गणितमा भने ई जीपीए ल्याए पनि फरक पर्दैन ।
शिक्षाशास्त्र संकाय पढ्न पनि १ दशमलव ६ जीपीए ल्याएका विद्यार्थीको अंग्रेजी नेपाली र सामाजिक विषयमा डी प्लस कम्तीमा आएकै हुनपर्ने व्यवस्था छ । अझ शिक्षा शास्त्रको विज्ञान विषय पढ्न भने विज्ञान र गणितमा पनि डी प्लस ल्याउनैपर्छ ।
सरकारले ‘पास’ भनेका शून्य दशमलव ८५ देखि १ दशमलव ६ सम्म जीपीए ल्याउने विद्यार्थीले कुनैपनि विषयमा ११ कक्षामा भर्ना पाउँदैनन् । भलै, उनीहरु यसअघिको पुरक परीक्षामा जस्तै स्तरोन्नती गर्न मिल्ने (ग्रेड बृद्धि)को परीक्षामा सहभागि हुन सक्छन् । जहाँ उनीहरुले जीपीए बढाउने सम्भावना रहन्छ ।
२ भन्दा कम जीपीए ल्याएका विद्यार्थीले लोकसेवाको जाँचै दिन पाउँदैनन् ।सी डी प्लस डी र ई जीपीए ल्याएका विद्यार्थीले स्तरबृद्धिका लागि परीक्षा दिन पाउँछन् । ग्रेड बृद्धिको परीक्षा आउँदो साउन २३ गतेदेखि परीक्षा सञ्चालन हुनेछ ।