करणी मुद्दाका अभियुक्त कृष्णकुमार विकलाई १२ वर्ष कैद

0SHARES

६ माघ २०७६ नेपाल टाईम्स

६ माघ, तनहुँ । जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो ।

गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरूद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

यसैगरी सवारी ज्यान मुद्दाका अभियुक्तलाई न्यायाधीश ढुंगेलको इजलासले नौ महिना कैदको फैसला गरेको छ । सवारी ज्यान मुद्दामा थुनामा रहेका व्यास नगरपालिका–११ का तुलबहादुर विकलाई सो कैदको फैसला गरेको हो ।

निजविरूद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो । (रासस)

विज्ञापन बक्स