कसरी नांगियो साइपाल हिमाल ?

0SHARES

१४ कार्तिक २०७७ नेपाल टाईम्स

बझाङ : पहिलोपटक २०६० मा यार्चागुम्बा टिप्न औंलागाड पुगेका राजेन्द्र धामीले त्यसयता साइपाल आसपास क्षेत्रमा महिनौं बिताएका छन् । साइपाल गाउँपालिकाको धलौनका ४१ वर्षीय धामी यो अवधिमा दर्जनौं पटक साइपाल हिमालको फेदी औंलागाडसम्म पुगे ।

कहिले यार्चागुम्बु टिप्न र संकलन गर्ने सिजनमा अस्थायी होटल चलाउन आउजाउ भइरहन्छ । धेरै वर्षसम्म त भेडा चराउन फागुन–चैतमा साइपालको काखमा पुग्नु र असोज–कात्तिकमा गोठ औलतिर ओराल्नु उनको वार्षिक तालिकाको अनिवार्य कार्यक्रम जस्तै थियो ।

हिउँले टम्म भरिएको सेताम्मे साइपालको आकर्षणले उनलाई मोहनी लगाएको रहेछ । ‘साइपाल हिमाल नजिक पुगिसकेपछि अर्कै खालको आनन्द आउँथ्यो,’ उनले भने, ‘दिनभरि हेरिराखे पनि मन अघाउँदैनथ्यो । कामै नभए पनि म कहिलेकाहीँ हिमालको फेदैसम्म पुगेर फर्किन्थेँ ।’

एकपटक हिमाल आरोही टोलीसँगै कात्तिकमै पनि पुगे । जुन मौसममा गए पनि साइपालको सौन्दर्य उस्तै हुन्थ्यो । साइपालमा छिटो छिटो बदलिने मौसमको लुकामारी चित्ताकर्षक हुन्थ्यो । साइपालको चुचुरो लजालु बेहुली जस्तै छिनमै बादलको घुम्टोभित्र लुक्थ्यो । हावाको गतिसँगै बिस्तारै बादल हट्थ्यो अनि हिउँको सिरकले गमक्क छोपिएको साइपाल खुल्दा वरिपरिको वातावरण पनि थप उज्यालिन्थ्यो ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका स्पेनी आरोही डा. जर्ज इचोएगा भन्छन्– ‘यो कसरी भयो , म भन्न सक्दिनँ तर मेरो जीवनकालमा ७ हजार मिटर अग्ला हिमालमा यसरी हिउँ हराएको देखेको छैन ।’

यहाँ पुग्ने स्वदेशी र विदेशी पर्यटक पनि साइपालको मोहनी रूपमा आफू लट्ठिएको कुरा धामीलाई सुनाउँथे । अध्यक्ष धामी पनि आजसम्म कसैले टेक्न नसकेको साइपालको चुचुरोलाई एक दिन विश्व पर्यटनको केन्द्र बनाउने सपना बुन्थे । जिल्लाका हरेक नेतालाई बृहत् साइपाल पर्यटन विकास योजनामा सहयोग गर्न अनुरोध गर्थे । यसै सिलसिलामा जब उनी आइतबार प्रतिनिधिसभा सदस्य आशा विकको टोलीसहित त्यहाँ पुगे । साइपालको फेरिएको रूप देखेर नराम्रोसँग झस्किए, ‘साइपालको हिउँ त गायब भइसकेको रहेछ ।’, याे खबर कान्तिपुर दैनिकमा छ ।

विज्ञापन बक्स