१७ जेठ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको टिप्पणी गरेको छ ।
सोमबार सरकारले जेठ १५ गते ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताएको छ ।
हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्नेसमेत कांग्रेसले निष्कर्ष निकालेको छ ।
कांग्रेसले केही वर्षहरुदेखि कार्यान्वयनमा रहेका सबै योजनाहरुको फेहरिस्तलाई नयाँ योजनाका रुपमा प्रस्तुत गरेर सरकारले ‘निकै पो काम हुन लागेछ भन्ने भ्रम पार्न खोजेको’ टिप्पणी गरेको छ ।
भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन सम्भव नभएको र नागरिकको थाप्लो माथिको ऋणभार अझ बढ्ने निश्चित रहेको काँग्रेसले जिकिर गरेको छ ।