कुरिति र अन्धविश्वास अन्त्य गर्न सरकार प्रयासरतःपार्वत गुरुङ

0SHARES

२६ जेष्ठ २०७७ नेपाल टाईम्स

२६ जेष्ठ, काठमाडौं ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यकालागि सरकार प्रयासरत रहेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालय गत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री गुरुङले समाजमा रहको कुसंस्कार, कुरिति र अन्धविश्वास अन्त्य गर्नकालागि मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए ।

उनले महिला, बालबालिका र जेष्ठनागरिक माथि हुँदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमहरु तय भएको बताए । मन्त्री गुरुङ बालबालिकाको राष्ट्रिय रणनीति तयार गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यको लागि महिला आर्थिक सशक्तिकरणमा जोड दिने र जेष्ठ नागरिकलाई सक्रिय बनाई पुस्तान्तरणको रुपमा विकास गर्ने कार्यक्रमहरु आएको बताए ।

अपाङ्गताको क्षेत्रमापनि फरक क्षमता भएकाहरुको पहिचान गरी परिचयपत्र दिने र सामाजिक सुरक्षाको अनुभूति दिलाउन अपांगतामैत्री वातावरण निर्माण गर्न बजेट केन्द्रीत भएको बताए । उनले सामाजिक क्षेत्रका कार्यक्रमलाई पनि राष्ट्रिय गौरवको कार्यक्रममा रुपान्तरण गर्ने गरी मन्त्रालयले कार्यक्रमहरु ल्याएको स्पष्ट पारे ।

समाजमा हुने विभेदहरुको अन्त्य गर्न र मर्यादित नेपाल निर्माण गर्नको लागि केही नीतिगत रुपमा सामाजिक रुपान्तरणका विषयहरुलाई पनि समेटिएको बताए । उनले अपाङ्गता तथा महिला क्षेत्रका ऐनहरुलाई संशोधन गर्ने प्रक्रियाको सुरुवात मन्त्रालयले गरिसकेको समेत बताए ।

विज्ञापन बक्स