कैलालीकी महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामी खोजिँदै

0SHARES

नेपाल टाईम्स

२४ जेठ, काठमाडौँ ।
सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।

आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो ।  उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । संक्रमण पुष्टि हुनुअघि नै शनिबार ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । शनिबार दिउँसो ती महिलामा कोरोना पुष्टि भएको हो ।

ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ । संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०/२२ जना सहभागी भएका थिए । प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’

उनले मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको बताए । मलामी गएका सबैको स्वाब परीक्षण गरिने उनले बताए ।

Facebook Comments

विज्ञापन बक्स