११ बैशाख, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ ।
सङ्घले आज एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ ।
नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो ।
आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो । त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो ।