काठमाडौँ,भदौ २३
आज बिहान गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ ।धादिङको सत्यवती गाउँपालिकाको वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले जनाएको छ ।
तर ,हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए । भेटिएको जानकारी पाउनासाथ प्रहरी टोली त्यसतर्फ गएको र फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने अहिले नै नखुलेको उनको भनाई छ । प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने उनले बताए ।
गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।