२४ जेठ, वीरगञ्ज ।
कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो ।
सन् २०२०÷२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या उल्लेख्य परिमाणले घटेको छ । नेपालको वैदेशिक व्यापार वर्षेनि बढ्दै आएकोमा यो वर्ष पहिलोपटक तेस्रो मुलुकसँगको व्यापार परिमाण खुम्चिएको हो ।
भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का अनुसार बितेको वर्ष २०२०÷२१ (अप्रिलदेखि मार्च) मा तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर संख्या १७ हजार ६४५ ले घटेको छ ।
गत वर्ष भारतको श्यामाप्रसाद मुखर्जी (कोलकाता) र विशाखापत्तनम् बन्दरगाह हुँदै नेपालका लागि २० फीटका ९० हजार ४६६ ओटा कन्टेनर आएको एनटीडब्ल्यूसी कोलकाता कार्यालयका प्रमुख हिमनाथ पौडेलले जानकारी दिए ।
वर्ष २०१९÷२० मा यो संख्या १ लाख ८ हजार १११ थियो । सन् २०२० का शुरूका केही महीना व्यापारमा कोरोना महामारीको असर खासै देखिएको थिएन । संक्रमण पैmलिएसँगै बन्दाबन्दी र निषेधाज्ञा लागू भएपछि व्यापार घट्दै गएको हो ।
सरकारले कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष ६ महीनासम्म लगाएको बन्दाबन्दी र निषेधाज्ञाले बजारमा आपूर्ति र माग घटेको थियो । आवागमन र बजार अवरुद्ध भएपछि त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो ।
वर्ष २०१९÷२० मा प्रतिमहीना औसत ९ हजार कन्टेनर भित्रिएको तथ्यांक एनटीडब्ल्यूसीसित छ । बितेको वर्ष यो संख्या घटेर ७ हजार ५३८ मा झरेको छ ।
यस अवधिमा कोलकाता बन्दरगाहबाट ५८ हजार ६०५ कन्टेनर आएका छन् । तीमध्ये रेलमार्फत १९ हजार १०४ र सडकमार्गबाट ३९ हजार ५०१ कन्टेनर नेपाल भित्रिएको पौडेलले जानकारी दिए । विशाखापत्तनम्बाट ३५८ ओटा ¥याकमा ३१ हजार ८६१ कन्टेर मालसामान भित्रिएको थियो ।
कोरोना नियन्त्रण गर्न ६ महीनासम्म उद्यम, बजार, व्यापार ठप्प पारिएपछि वैदेशिक व्यापारमा त्यसको प्रभाव देखिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।