३१ वैशाख, रसुवा । रसुवामा निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।
चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) ले जिल्ला प्रशासन कार्यालय रसुवालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
रसुवामा रहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको सीडब्ल्यूईले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
जिल्लाको अस्पतालमा अक्सिजन सिलिन्डर पर्याप्त नभएका कारण सहयोग गरिएको आयोजना प्रमुख छबि गैरेले बताए । जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
जिल्लाको अस्पतालहरूमा अहिले पर्याप्त अक्सिजन सिलिन्डर छैनन् । जिल्लामा हाल सञ्चालनमा रहेका दुई वटा अस्पतालमा २० वटा अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।