लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै पर्यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई ।
बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन् । नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो ।
मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।