२९ बैशाख, पोखरा । पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ ।
सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय आज अपरान्ह ४ बजेसम्म मात्र कायम छ ।
यदी तोकिएको समयभित्र नयाँ गठबन्धनका दलले हस्ताक्षर बुझाउन नसकेको अवस्थामा ठुलो दलको हैसियतमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त हुने छन् ।
गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका ३ जना जसपा २ र स्वतन्त्रबाट एक जना सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ३१ जना सांसदको आवश्यकता पर्छ ।