एजेन्सी, फागुन ६
जम्मु–काश्मिरमा गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् ।सोमबार बिहान आतंककारी र सेनाबिच फेरि गोली हानाहान हुँदा चार जनाको मृत्यु हुनुका साथै एक जना सैनिक घाइते भएका हुन् ।
पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो ।
अहिले गोली चल्न रोकिएको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् ।गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ ।
केही शंकास्पद क्षेत्रमा सेनाले वार्निङ्ग फायरिङ्ग गरेको थियो । त्यसको जवाफमा लडाकुहरुले पनि गोली चलाए । यस बेला पनि भारतीय सेनाका एक मेजरसहित चार जना मारिएका थिए । मारिनेमा लडाकुहरु लुकेको घरको मालिक पनि रहेको बताईएको छ ।