ट्राफिक जाम घटाउन कोटेश्वर जडिबुटीमा अण्डरपास बनाइने

520SHARES

१३ बैशाख, काठमाडौं ।  सडक विभागले कोटेश्वर जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ ।

सडक विभागले आगामी आर्थिक २०७८÷७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो। विभागले जापानी सहयोग निकाय जाइकासँगको सहकार्यमा अण्डरपासको अध्ययन गर्न अर्थमन्त्रालयसँग बजेट स्रोत सुनिश्चिता माग गरेको हो ।

जाइकाले केही समय अघि अण्डरपासको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । अर्थमन्त्रालयले बजेट सूनिश्चिता गरे विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने विभागको योजना छ ।

अर्थमन्त्रालयले अन्डरपास निर्माण गर्न आवश्यक बजेट आगामी आवमै विनियोजन गर्ने अपेक्षासहित जाइकाले डीपीआरको तयारी शुरु गरिसकेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । कोटेश्वर–जडिबुटी खण्डको अन्डरपास निर्माण कार्यलाई विभागले उच्च प्राथमिकतामा राखेको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्रको रुपमा कोटेश्वर–जडिबुटी खण्ड रहेको छ । कोटेश्वर–जडिबुटी खण्ड कलंकी पछि काठमाडौं भित्रिने मूख्य प्रवेश मार्गमध्येको एक हो ।

चक्रपथ, बीपी राजमार्ग, अरनिको राजमार्ग, भक्तपुर, काभ्रेका सवारीसाधन कोटेश्वर–जडिबुटी खण्ड हुँदै काठमाडौं भित्रिने र बाहिरने गर्छन् । विगत केही वर्षदेखि कोटेश्वर–जडिबुटी खण्डमा सवारी चाप धेरै छ ।

चोक भएकाले एउटा दिशाबाट आउने गाडीले पालो दिएपछि मात्र विपरीत दिसाका सवारी पास हुन सक्छन् ।

अण्डरपास निर्माण गर्न सकिए सवारीसाधन पालो पर्खिएर हुने जाम हट्ने विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले बताए ।प्रारम्भिक डिजाइन अनुसार अन्डरपासको लम्बाई ८ सय मिटर सम्मको हुनेछ।

छुटाउनुभयो कि?

सम्पूर्ण