काठमाडौं, माघ ४
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग सवाल–जवाफ चलिरहेको छ । बैठकमा कांग्रेस सांसद गगन थापाले प्राध्यापक डा. गोविन्द केसीका विषयमा सवाल गरेका छन् ।
‘डा. केसीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक प्रधानमन्त्रीले चाहेमा अघि बढ्छ । प्रधानमन्त्रीप्रतिको विश्वासलाई ढल्न दिने वा कार्यान्वयन गर्ने ?’ थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
यसको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले संसदको आदेश आफूले मान्ने तर आदेश दिन नसक्ने बताए । डा. केसीको अनशन सिलसिला चलिरहेको छ । संसद जनप्रतिनिधिहरुको थलो भएका कारण यसको पनि सर्वोच्चता छ ।
जसले कानुनलाई संशोधन गर्न, नयाँ बनाउन सक्छ । त्यसैले संसदको सर्वोच्चताप्रति म नतमस्तक छु’, प्रधानमन्त्रीले भने, ‘१६ औँ पटक अनशन जारी छ । १५औं अनशनमा भएको सम्झौताको चर्चा छ । एकजना अनशन बसेपछि संविधान, कानुन, आवश्यकता, तर्कले काम नगर्ने लोकतन्त्रमा हुन्छ ? सम्झौता सत्य निरुपण हो । सम्झौताप्रति सरकार प्रतिबद्ध छ । त्यसअनुसार सरकारले संसदमा विधेयक पेश गरेको छ । म संसदलाई आदेश दिन सक्दिन, संसदको आदेश मान्छु ।’
संसदमा प्रधानमन्त्रीले आफ्नो चाहना डा. केसी सँगको सम्झौता पारित होस् भन्ने भएतापनि दबाब दिन नसक्ने बताए । ‘विधि निर्माण गर्दा संसदलाई बाध्य पार्न सकिँदैन । कानुनभन्दा माथि कोही पनि हुन सक्दैन । हामी सबै संविधान कानुन विधि प्रक्रियाभित्र छौं । म जे भन्छु त्यही हुनुपर्छ भन्ने हुँदैन । संसदलाई आग्रह पनि गर्छु, आदेश दिन सक्दिन,’ प्रधानमन्त्रीले भने ।
त्यस्तै सांसद मीनेन्द्र रिजालले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो ? भनि प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले आफूले यससम्बन्धी काङ्ग्रेसका नेतासँग छलफल भइरहेको भन्दै सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सचेत रहेको बताए ।
साथै गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै नचल्ने देखिएकाले त्यसलाई राम्रो चल्ने गरी कसरी अघि बढाउने सम्बन्धमा आफूले छलफल अघि बढाएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताए । पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विजयकुमार गच्छदारसँग कुराकानी भइसकेको उल्लेख गर्दै ओलीले भने,‘कांग्रेसले भारतले बजेट दिन्छ भन्यो तर व्यक्तिगत मात्र नभई सरकारको तर्फबाट के हुन सक्छ ? त्यस विषयमा छलफल गरौं भनेको थिएँ मैलेँ। यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा कांग्रेसँग छलफल भइरहेको छ ।