२० वैशाख, तनहुँ । तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् ।
व्यास नगरपालिका–१४ छाब्दीमा भोज खाएका ३५ जना बिरामी परेका हुन् ।
बिरामी परेका व्यक्तिमा पखाला, वान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको छाब्दीमा रहेको सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए ।
बिरामीमध्ये गम्भीर ४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए ।
यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् ।
लालबन्दी नगरपालिका–६ मा रुद्री पूजाको प्रसाद खाँदा बालबालिकासहित २५ जना बिरामी भएका हुन् ।
शुक्रबारदेखि पेट दुख्ने, वान्ता हुने, सामान्य ज्वरो आउने समस्या देखिएको र बिरामी केही हिजो मात्रै अस्पताल भर्ना भएका छन् ।
बिरामी परेकाहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।