काठमाडौँ, चैत २३
अबदेखि त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थी आफैँले अनलाइनमार्फत भर्ने ब्यबस्था गरिने भएको छ ।त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था गर्न लागेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
विद्यार्थीले आफैँले फाराम भर्न सक्ने र अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँ प्रिन्ट गरेर लिन सक्ने उनले बताए । उनले भने “अनलाइनमार्फत् भरेको फाराममा रहेको प्रवेशपत्र प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दैछौँ ।”
यसैगरी पनिकाले विद्यार्थीको मार्कसिटको क्याम्पसले प्रिन्ट गरेर दिन सक्ने व्यवस्था गर्न थालेको छ । नयाँ वर्षदेखि लागू हुने गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न थालेको परीक्षा नियन्त्रक जोशीले बताए ।
ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने
त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् ।