एजेन्सी, माघ २९
भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । करोल बागस्थित होटल अर्पित प्यालेसमा अचानक लागेको आगलागीका कारण धुवाँमा निसासिएर उनीहरुको मृत्यू भएको हो ।
होटलका अधिकाश क्षेत्रमा काठका सामाग्री रहेका कारण आगो फैलिएको अग्निनियन्त्रक टोलीले जनाएको छ । आगलागीबाट होटलका २५ कोठा जलेर पूर्णरुपमा नष्ट भएका छन । २५ वर्षपूरानो सो होटलमा आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन ।
होटलमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २५ भन्दा बढी दमकल प्रयोग गरिएको थियो । उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए । आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।