१६ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।
ओलीले आइतबार भारत र नेपालकै नेताहरूले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका हुन् ।
नक्सा जारी गरेबापत भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न सक्रिय रहेको भन्ने अभिव्यक्तिलाई लिएर बैठकको सुरुमै अध्यक्ष दाहालले त्यसबारे जावाफ मागेका थिए । उनले भारतीय राज्य संयन्त्र सरकार ढाल्न लागेको नभइ पार्टीले नै राजीनामा मागेको बताएका थिए ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको कारण सरकार र पार्टी अप्ठ्यारोमा परेको भन्दै दुवै पदबाट राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए । त्यसपछि वरिष्ठ नेताद्वय खनाल, नेपाल र उपाध्यक्ष गौतमले पनि यसरी नै पार्टी र सरकार नचल्ने भन्दै दुवै पदबाट राजीनामा दिन भनेका थिए ।
एक नेता भन्छन्, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरूले आग्रह गर्नुभएको छ ।’
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर श्रेष्ठले प्रचण्ड र ओलीले के–के भनेका थिए भन्ने खुलाएनन् ।
एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको बताएका थिए।