नेपालका कहाँ,कस्तो अध्ययन हुन्छ ? बुझ्नका लागि होटल इस्टर्न स्टार जाऔं

0SHARES

१ फाल्गुन २०७६ नेपाल टाईम्स

१ फागुन, विराटनगर ।
नेपालमा अध्यापन राम्रो हुँदैन भनेर विद्यार्थीलाई उज्वल भविष्यको आशा देखाई विदेशका विश्वविद्यायलमा विद्यार्थी भर्ना गराउन नेपालका विभिन्न एजुकेशन कन्सल्टेन्सीहरुले सहयोगको भूमिका निर्वाह गर्दै आएका छन् । अर्थात यहाँका विद्यार्थीहरुलाई पलायन गर्नेकाममा यहाँका एजुकेशन कन्सल्टेन्सी लागेका छन भन्दा फरक पर्दैन ।

हाम्रो शंका होइन विदेशमा राम्रै अध्यापन होला तर, नेपालमा कस्तो अध्ययन हुन्छ ,यहाँको शिक्षा कस्तो हुन्छ, नेपालको शिक्षाका अवसरहरु कस्ता छन् भनेर जान्न नपाउँदै लहैलहैमा विद्यार्थी विदेश पलायन हुन बाध्य भईराखेको अवस्था छ । यस्तो अवस्था आउन नदिन विद्यार्थीहरुलाई नेपालको शिक्षा र यसका अवसरहरुबारे जानकारी दिन विराटनगरमा ‘स्टडी इन नेपाल एजुकेशन फेयर’ शैक्षिक मेला सुरु भएको छ ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा शुक्रबारसम्म सञ्चालन हुने मेलाको आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे । भिजन मिडिया इन्कर्पोरेशनले ‘सबैको इच्छा स्वदेशमै शिक्षा’ नाराका साथ आयोजना गरेको शैक्षिक मेलामा नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थी तथा अभिभावकहरुले निः शुल्क परामर्श लिन सक्नेछन् । मेलाको उद्घाटन पश्चात मन्त्री घिमिरेले विभिन्न स्टलहरुको अवलोकन गरेका थिए । मेलाको अवलोकन पश्चात मन्त्री घिमिरेले युवाहरुको ठूलो पङ्ति युरोप, अमेरिका पढ्न गएपनि उतै बस्ने, पाखुरीमा बल हुने खाडी मुलक जाने गरेकोले नेपाल बुढाबुढीको देश हुँदै गएको बताए । उनले देशलाई समृद्धितर्फ लान स्वदेशमै शिक्षा लिएर स्वदेशमै प्रयोग गर्नुपर्ने आवश्यकता भएकोले यस मेलाले ठूलो सहयोग पुग्ने बताए ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका, यी विश्वविद्यालय अन्तर्गत सञ्चालिक क्याम्सका साथै विदेशका विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पसहसहित ४० वटा स्टल रहेको मेलामा ९ वटा विराटनगरका निजी तथा सरकारी क्याम्पसहरु रहेका छन् । मेलाबाट स्नात्तक तथा स्नात्तकोत्तर अध्ययन गर्न चाहने विद्यार्थीले अध्ययन गर्न चाहेको क्षेत्रका क्याम्पसका आधिकारीक व्यक्तिसँग सम्पर्क गरी शुल्क, स्कलरसीप, अवसरहरुका बारेमा जानकारी लिन सक्ने भिजन मिडिया इन्कर्पोरेशनका म्यानेजिङ डायरेक्टर जीवन लामा घलेले जानकारी दिए ।

उनका अनुसार मेलाबाट आईटी, इन्जिनियरिङ र ब्यबस्थापनका बीबीए, एमबीए, बीआईटी, बीआईएम, बीएचएम, बीएचसीएम, बीबीएम, बीएएसडब्लु, बीबीएस, बीएस्सी सिएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थी लाभान्वित हुनेछन् । नेपालको शिक्षा अवस्था र अवसरहरुको बारेमा जानकारी दिन सेमिनारको पनि आयोजना गरिएको छ । मेलाको पहिलो दिन विराटनगर, इटहरी, दमक लगायतका ठाउँबाट बाक्लो संख्यामा विद्यार्थीहरुको उपस्थिती थियो । मेला शुक्रबार पनि विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

विज्ञापन बक्स