१८ कात्तिक, काठमाडौँ ।
चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्याएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ बताएका हुन् ।
सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सीमा मिचिएका समाचारहरु हल्ला हुन् । समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा अगाडि स्रोतसँग भेरिफाई गर्न म आग्रह गर्छु । म तपाईंहरुलाई फेरि भन्छु यस्तो रिपोर्टहरु पूर्णरुपमा हल्ला हुन् । यो कुनै तथ्यमा आधारित छैन् ।’
पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको विभिन्न दाबी गरिएको छ ।