२ जेठ, काठमाडौं ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर आज संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ ।
सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले संकटका समयमा सहयोग गरेकामा संघप्रति आभार प्रकट गर्दै सिलिण्डर आवश्यकतानुसार लुम्बिनी प्रदेशमा २००, सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा १००, प्रदेश नं २ मा ८५ र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशनसमेत दिए ।