१९ आश्विन, काठमाडौं ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।
कार्यालयमा संक्रमित कर्मचारीको कार्यकक्षलगायत कार्यालय परिसरमा निर्मलीकरण गर्ने काम गरिएको कार्यालयले जनाएको छ । कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृतिलगायत कार्यालयको काम गएको बुधबारदेखि रोकिएको थियो ।
नजिक रहेर काम गर्ने सम्भावित कर्मचारीहरुलाई होम आइसोलेसनमा पठाइएका कारण कार्यालयमा रहेर सेवा सञ्चालन गर्ने जनशक्तिको सीमितता हुन गएको कार्यालयले सूचना जारी गर्दै जनाएको छ ।
सेवाग्राहीहरुका बीच सामाजिक दूरी कडाइका साथ कायम गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने कारण पुनः श्रम स्वीकृतिका लागि ई(टोकनको संख्यासमेत सीमित गरिएको कार्यालयले जनाएको छ ।
तत्काल रोजगारीमा जानु नपर्ने सेवाग्राही कामदारहरुले अबको करिब दुई सातासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिनसमेत कार्यालयले अनुरोध गरेको छ । जसबाट सामाजिक दूरी कायम गर्नुका साथै तत्काल वैदेशिक रोजगारीमा जानुपर्ने कामदारलाई प्राथमिकता दिई सेवा दिन सहयोग पुग्ने अपेक्षा कार्यालयले गरेको छ ।
कामदारहरुले सम्बन्धित गन्तव्य मुलुकहरुले कोभिड १९ को जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लागु गरेका नियम र प्रबन्धहरुबारे जानकारी लिन र सोहीअनुसार आवश्यक कागजातको तयारी पूरा गरेर मात्र अनलाइन आवेदन दिन कार्यालयले अनुरोध गरेको छ ।
सेवाग्राहीहरुले सामाजिक दूरीका साथै स्वास्थ्यसम्बन्धी सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गरी सहयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिह्नमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको छ।