पूर्वमा ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई, सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रतिशत

0SHARES

२१ श्रावण २०७५ नेपाल टाईम्स

विराटनगर,साउन २१
पूर्वमा साउनको तेस्रो सातासम्म धान खेती हुने क्षेत्रफल मध्य ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । धान खेतीको लागि उर्वरभूमि मानिने तराई पहाडी क्षेत्रको कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टरमा धान खेती हुँदै आएकोमा साउन २१ गतेसम्ममा ३ लाख ९३ हजार ६१ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

पूर्वमा हालसम्म सबैभन्दा बढी उच्च पहाडी जिल्ला सोलुखुम्बुमा धान रोपाई भएको छ । सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा हालसम्म ९९ प्रतिशतमा धान रोपाई भएको छ । त्यस्तै सबैभन्दा कम सप्तरीमा ६० प्रतिशत धान रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । हालसम्म ८४ प्रतिशत धान रोपाइ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगर वरिष्ठ अधिकृत राजेन्द्र उप्रेतीले जानकारी दिए ।

अहिलेसम्म झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ९५ प्रतिशत, मोरङमा ७८ हजार हेक्टर क्षेत्रफल मध्ये ९२ प्रतिशत धान रोपाइ भएको छ । यस्तै सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफल मध्ये ९६ प्रतिशत,सिरहामा ७८ प्रतिशत धान रोपाई भैइसकेको छ । इलाममा ७५ प्रतिशत, पाँचथरमा ९१ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत, तेह्रथुममा ७८ प्रतिशत,धनकुटामा ८८ प्रतिशत, उदयपुरमा ७५ प्रतिशत,ओखलढुंगामा ७० प्रतिशत, खोटाङमा ८८ प्रतिशत धान रोपाई भैसकेको कार्यालयले जनाएको छ ।

यस्तै ९५ प्रतिशत, संखुवासभामा ८६ प्रतिशत रोपाई भएको तथ्याङ्कले देखाएको छ । गतबर्ष यही समयमा ६८ प्रतिशत मात्र धान रोपाई भएको उप्रेतीले बए । यता कृषकहरुले भने यो बर्ष पर्याप्त पानी पर्नु र मल ,बीउको अभाव नभएका कारण समयमै धान रोपाई भएको प्रतिक्रिया दिएका छन् ।

मोरङको रतुवामाई नगरपालिका ५ का कृषक चुडामणी संग्रौलाले भने हामीलाई यसवर्ष मौसमले पनि साथ दिएको छ । पर्याप्त वर्षा र मल बिउका कारण कृषकलाई सहज बनाईदिएको छ । गतबर्ष आएको बाढीका कारण पूर्वमा धान रोपाई समयमै हुन पाएको थिएन भने धान उत्पादन पनि कमी आएको थियो ।

विज्ञापन बक्स