काठमाडौंं,माघ २०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ सूचीमा मूल्य बढेर आएपछि निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।
स्थानीय बजारमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।
यसअघिको पेट्रोलका खुद्रा मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ थियो भने डिजेल र मट्टीतेलको प्रतिलिटर ९५ रुपैयाँ थियो ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा ३२.६८ रुपैयाँ घाटा छ । पछिल्लो मूल्य समायोजनले दुई सातामा १ अर्ब १६ करोड रुपैयाँ निगमलाई नाफा हुनेछ । गोइतका अनुसार पुस दोस्रो सातासम्म मूल्य घटाएर पठाएको आइओसीले पुनः मूल्य बढाएर पठाएपछि स्वचालित मूल्य लागु गरिएको हो ।