विराटनगर, चैत २२
बारा पर्सामा केही दिन अघिको हुरीबतासबाट पिडित भएकाहरुलाई प्रदेश नम्बर १ सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले १ करोड रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
सो रकम २ नम्बर प्रदेशको राहत तथा उद्धार कोषमा जम्मा गरिने छ । बिहिवार साँझ बसेको प्रदेश सरकारको बैठकले प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गर्ने गरी एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको आर्थिक मािमला तथा योेजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए ।
यसअघि विराटनगर महानगरपालिकाले पनि हुरीपिडितलाई सहयोग गर्ने घोषणा गरेको थियो । त्यस्तै मन्त्रिपरिषद बैठकले विभिन्न विधेयकहरु तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ ।
विहिबार साँझकोे बैठकले प्रदेश प्रहरीको गठन, सेवा शर्त र सञ्चालन सम्बन्धमा गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक स्विकृती दिएको छ । त्यस्तै गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा २०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृत गरेको छ ।
वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको छ । त्यस्तै बैठकले सुनसरीको चतरामा आयोजना हुने दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापन गर्न मुल समारोह सहयोग समिति गठन गरेको छ ।