काठमाडौं, चैत १४
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने भ्रम नपाल्न विप्लव समूहलाई आग्रह गरेका छन् । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको बिहीबार उद्घाटन गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताए ।
बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउन नसक्ने उनको दाबी छ । प्रधानमनत्री ओलीले कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कारबाही गर्ने चेतावनी दिए । उनले प्रतिपक्षी कांग्रेसको समेत आलोचना गरे । विप्लव समूहलाई प्रतिबन्ध लगाउन नहुने कांग्रेसको तर्कप्रति ओलीले आलोचना गरेका हुन् ।
कांग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कठैबरा कांग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा र्झयो’ उनले भने ।
पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै उनले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने बताए । नेतृत्वले कुनै लाखापाखा नगर्ने भन्दै उनले अब कसैले गुटबन्दी गर्नु नपर्ने बताए कार्यक्रममा अध्यक्ष ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ दिलाएका थिए ।