९ चैत्र, काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताका लागि समय मागेका छन् ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भेटमा संसद् सञ्चालनबारे छलफल गर्न सभामुख सापकोटाले भेट वार्ताका लागि समय मागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न पुगेका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाको भेट भएको थियो ।
सापकोटाले आफूले प्रधानमन्त्रीसँग संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग समय मागेको पत्रकारहरूसँग बताए ।
समय पाउने अपक्षा आफूले राखेको सापकोटाले पत्रकारहरूसँग बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा बदर गरिदिएको थियो ।
त्यसपछि सापकोटाको ओलीसँग औपचारिक भेट भएको छैन ।