प्रधानमन्त्री ओली आज पोखरा जाँदै

567SHARES

१७ फागुन, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्।

पोखरामा शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो। आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा आएका छन् । झापाबाटै उनी पोखरा जान लागेका हुन् ।

ओलीले त्यहाँ प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणदेखि रंगशालाको निरीक्षणसम्मका कार्यक्रम छन् । उनले नदीपुरमा बन्न लागेको प्रदेश प्रशिक्षण भवनको शिलान्यास पनि गर्नेछन् ।

पौने १२ बजे यति एअरको जहाजमार्फत उनी पोखरा जानेछन् । पोखरा सभागृहमा उनले प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्तालाई दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।

त्यसअघि दिउँसो सवा १२ बजे नदीपुरमा बन्न लागेको प्रदेश प्रशिक्षण भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य राजीव पहारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पोखरा रंगशालास्थित फुटबल स्टेडियमसहित भलिबल कोर्ट, क्रिकेट मैदान, कभर्ड हललगायत संरचनाको निरीक्षण गर्ने छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा फागुन २०(२७ गतेसम्म गर्ने भनिएको थियो । तर, कोरोना भाइरसले गर्दा हुन सकेन ।

प्रतियोगिताकै लागि ३८ करोड लागतमा पोखरामा बनाउने तयारी भइरहेको स्विमिङ पुलबारे प्रधानमन्त्रीलाई राखेपले ब्रिफिङ गर्नेछ । राखेप सदस्यसचिव रमेश सिलवाल पोखरामै छन् ।

पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड बनाएको छ ।

पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण