विराटनगर, माघ १२
क्याम्पसमा शैक्षिक, भौतिक र प्रशासनिक सुधारको माग गर्दै पुसेट क्याम्पसका विद्यार्थीहरुले संयुक्त आन्दोलन सुरु गरेका छन् । पुसेट क्याम्पसका विभिन्न समस्याको निराकरण र उन्नतिका लागि विद्यार्थीले गरेको ध्यानाकर्षणलाई पूर्वाञ्चल विश्वविद्यालय डिन कार्यालयले बेवास्ता गरेको भन्दै नेविसंघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी फोरमका विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले डिनले आंगिक क्याम्पसमा नटेक्ने, समस्या अध्ययन नगर्ने र विद्यार्थीले आवाज उठाउँदा पनि वास्ता नगरेको आरोप लगाएका छन् । डिनको काम कर्तव्य र अधिकारको विद्यार्थीहरुलाई स्पष्ट पारिनुपर्ने, डिन क्याम्पस मैत्री हुनुपर्ने,पुसेटका शैक्षिक, भौतिक र प्रशासनिक पुर्वाधार तत्काल इन्जिनियरिङ काउन्सिलको मापदण्ड अनुसार विकास गराई काउन्सिलको सम्बन्धनमा जुट्नुपर्ने आफुहरुको माग रहेको अनेरास्ववियु पुसेट क्याम्पस कमिटीका उपाध्यक्ष विजय पाण्डेले जानकारी दिए ।
पुसेट क्याम्पसको परीक्षफल समस्या निराकरण गर्नुपर्ने, विश्वविद्यालयलाई निरन्तर सहकार्य गर्नुपर्ने, विद्यार्थीको भविष्यको सुनिश्चित गर्नुपर्ने तथा पुसेटलाई अनुसन्धान केन्द्रका रुपमा विकसित गरिनुपर्ने तथा पहिलेका सम्पूर्ण मागहरुको कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।