२७ असोज, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याए लगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताएका हुन् । उनले आफू नेपाल नफर्कने र माल्दिभ्सबाटै कुबेत फर्किने बताएका हुन् ।
उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।
अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै नेपाल फाइनल पुगेको हो ।