२६ असाेज, काठमाडाैँ ।
नेपालले आफ्नो फुटबल इतिहासमै सबैभन्दा महत्त्वपूर्ण खेलमा बिहीबार बंगलादेशको सामना गर्दैछ । भाेलीकाे खेलमा जित अथवा बराबरीको नतिजामा नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनल पुग्नेछ । पराजित रहेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
यसको एक दिन अगाडि मंगलबार आयोजित प्रेस मिटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएनन् । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जाेङ पनि अनुपस्थित भए ।
नेपाली टिमले दिएको जानकारीअनुसार अहिले तत्काल उनी प्रशिक्षणमा ब्यस्त छन् । त्यो भनेको नेपाली टिमले बान्डोस टापुमा दिउँसो अभ्यास गरेको छ । बिहीबार हुने खेल दिउँसो मालेको स्थानीय समयअनुसार ४ बजे हुनेछ र त्यसअनुसार खेलाडीलाई अभ्यस्त राख्न प्रशिक्षण भएको हो ।
तर यो उनको माइन्ड गेम पनि हुन सक्ने बताइएकाे छ उनी यस्तै यस्तै काम गर्न सिपालु छन् । उनको स्थानमा प्रेस मिटमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ आएका छन् ।
सहायक प्रशिक्षक किरणले नेपालले बंगलादेशविरुद्ध फाइनल प्रवेश गर्ने लक्ष्यसाथ उत्रने बताएका छन् ।‘बंगलादेशसँग खेल्न टोली तयार छ । टिमले राम्रो प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल हुने अपेक्षा गरेका छौं । यो खेल एकदम प्रतिस्पर्धात्मक हुनेछ । खेल हाम्रा लागि महत्त्वपूर्ण छ र राम्रो नतिजाका लागि खेल्नेछौ,’ उनले भने ।
‘हामी स्कोर गर्नका लागि नै खेल्नेछौं । हामी कुनै किसिमको दबावमा छैनौं । बरु बंगलादेशलाई भने जित्नुपर्ने दबाव रहेको छ,’ बराबरी भएको खण्डमा फाइनलमा पुग्ने जनाउँदै उनले भने, ‘नेपालसँग दबाव लिएर खेल्ने क्षमता छ । हामीहरु तयार छौ । हामी मानसिक रुपमापनि तयार छौ, जित्नका लागि नै खेल्नेछौ ।’
यता बंगलादेशले भने सबै दिउँसोको समयमा खेलेको छ । प्रशिक्षक श्रेष्ठले मौसमले पनि असर गर्नसक्ने बताए । ‘दिउँसो खेल्दा खेलाडीको प्रदर्शनमा असर पर्ने सम्भावना छ । तर हामीले खेल्नैपर्छ र त्यसका लागि तयार रहेका छौ । बंगलादेशी टिमले थ्री नेशन्स कप खेल्दा र अहिलेको टिममा धेरै फरक रहेको छ । टिमको रणनीति पनि फरक रहेकाले बंगलादेशले सरप्राइज दिनसक्ने सम्भावना रहन्छ,’ उनले भने ।