४ कार्तिक, एजेन्सी ।
अस्ट्रेलियाका प्रमुख पत्रिकाहरु प्रेसमाथि प्रतिबन्ध विरुद्ध एकजुट हुँदै ब्ल्याकआउट गरेका छन् ।
सोमबारको संस्करणमा ठुला पत्रिकाहरुले प्रेसमाथिको प्रतिबन्ध विरुद्ध ऐक्यवद्धता स्वरुप पहिलो पृष्ठमा ‘ब्ल्याकआउट’ गरेका हुन् । पहिलो पृष्ठमा आफ्नो नाम तथा मिति बाहरे अरु कालो पोतेका पत्रिकाहरुले त्यसमाथि रातो मसीमा ‘सिक्रेट’ लेखिएको स्ट्याम लगाएका छन् ।
पत्रिकाहरुले अस्ट्रेलियाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानूनले प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै ‘ब्ल्याकआउट’ गरेका हुन् ।
राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ कानूनले अस्ट्रेलियामा अपारदर्शीताको नयाँ संस्कृति सुरु गरेको त्यहाँका पत्रकारहरुले बताएका छन् ।
सरकारले भने आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए पनि कोही कानून भन्दा माथि नहुने उल्लेख गरेको छ । गत जुनमा अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबिसी) र न्यूज कर्प अस्ट्रेलियामा प्रहरीले छापा मारेको थियो ।
त्यसपछि पत्रकारहरुले त्यसको तीव्र आलोचना गरेका थिए । ब्ल्याकआउटको समर्थनमा धेरै टेलिभिजन तथा रेडियो स्टेसन र अनलाईन सञ्चारमाध्यमले पनि साथ दिएको बताइएको छ ।