बजेटका लागि सांसदलाई वर्गिकरण नगर्न रामलखन चमारको माग

0SHARES

१ असार २०७७ नेपाल टाईम्स

१ असार, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य रामलखन चमारले बजेट बनाउने बेलामा सांसदहरुको वर्गिकरण गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’मा मन्त्रालयगत शीर्षकहरु माथिको छलफलका क्रममा सांसदहरुको वर्गिकरण गरेर आयोजनाहरु तय गरिएको बताएका हुन् । सांसदहरुको हैसियत सबैको बराबर भएपनि बजेट बनाउने बेलामा वर्गिकरण गरेर आयोजनाहरु तय गरिएको आरोप चमारले लगाए ।

उनले सांसदहरुको क’, ‘ख’, ‘ग’, ‘घ’ वर्ग गरी वर्गिकरण गरी व्यवहार गरिएको बताए । आफुहरुले विभिन्न आयोजनाका लागि मन्त्रालयमा अनुरोध गरेको तर प्राथमिकतामा नपरेको भन्दै ‘घ’ वर्गलाई उपेक्षा गरे सबै एकठाउँमा उभिएर सरकारलाई चुनौति दिन सक्ने बताए ।

उनले यस वर्षको बजेट आइसकेकोले सम्बन्धित मन्त्रालयमार्फत ‘घ’ वर्गमा परेकाहरुको समस्या बुझ्न पनि आग्रह गरे । उनले भने ‘बजेट विनियोजन गर्ने बेलामा जव मन्त्रालय अन्तर्गत आउँछ त्यसपछि ‘क’, ‘ख’, ‘ग’, ‘घ’ सम्मको माननियहरुको वारेमा वर्गिकरण गरिन्छ । त्यहि वर्गिकरणको व्यथा माननियहरुले पोख्नुहुन्छ ।

मैले पनि र अरु माननियहरुले पनि आफ्नो क्षेत्रमा केही न केही एउटा काम त गरौं भनेर मन्त्रालयहरुमा अनुरोध त गरेका छौं । तर धेरै पाउने धेरै गर्न सक्ने ‘क’वर्गको, आदिआदि गर्ने ‘ख’वर्गको, थोरै यताउता कहिंकहिं भएको ‘ग’वर्गको, हामी ‘घ’ वर्गको संख्या त धेरै छौं ।

के ‘घ’ वर्गको माननिय जुन ढंगले मन्त्रालयबाट हाम्रो वर्गिकरण गरेको छ हामी छुट्टै उभिने हो भने के हुन्छ के मान्त्रीज्यूले त्यो बारेमा ख्याल गर्नुभएको छ । यो दुःखद कुरा हो ।’ उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास रकमको बारेमा विगतकै कार्यविधि अनुसरण हुने हो या सबै सांसदहरुलाई समान अधिकार दिने हो अर्थमन्त्रीले प्रस्ट पार्नुपर्ने बताए ।

अनुगमन र योजनालाई सहज तरिकाले सरोकारवालाले कसरी उपभोग गर्ने अभिमुखिकरणको योजना नआएको समेत चमारले बताए । युवा रोजगारीलाई लक्षित गरेर कार्यक्रम आएको तर कुनकुन मन्त्रालयबाट कसरी सहुलियत ब्याजमा वा अनुदानमा कसरी प्राप्त हुन्छ त्यसको प्रक्रियाको बारेमा युवाहरुलाई अभिमुखिकरण गर्ने कार्यक्रमहरु नआएको बताए ।

उनले भने ‘अव युवाहरुलाई साचिकै सशक्त बनाउनको लागि त सरकारका बजेटहरु कुनकुन बजेट कहाँ छन कसरी प्राप्त हुन्छन त्यसको बारेमा अभिमुखिकरणको अभियान लैजान सँगसँगै जरुरी छ ।’ उनले कामभन्दा योजना ल्याउन र खेल्नको लागिमात्रै काम गर्नेले मात्रै यस्तो सहुलियत प्राप्त गर्ने बताए ।

विज्ञापन बक्स