बाजुरामा पाइन्छ एक रुपैयाँमै तीन दाना स्याउ

२२ भाद्र २०७६

२२ भदौ, धनगढी । बाजुराको जुकोटका किसानहरु एक रुपैयाँमा तीन दाना स्याउ बेच्न बाध्य छन् ।

सडक यातायातको पहुँच नभएपछि बारीमा फलेका स्याउ बिक्रि नभएर त्यत्तिकै कुहिने गरेको र बिक्रि भइहाले पनि सस्तोमा बेच्नु पर्ने बाध्यता रहेको स्थानीय कृषकहरु दुखेसो पोख्छन् ।

शहर बजारमा ताजा स्याउ महँगो मुल्य तिरेर खान खोजे पनि पाउन नसकिरहेका वेला बाजुरामा भने बारीमा त्यत्तिकै स्याउ कुहिरहेका छन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका दुई सय भन्दा बढी किसानसँग स्याउको बगैँचा छ । प्रत्येक परिवारको बारीमा तीन सय भन्दा बढी स्याउका बोट छन्। सबैको समस्या बजारकै छ । वर्र्षौदेखि बारीमा स्याउ टन्न फल्छन् तर बजार अभावले त्यत्तिकै खेर गईरहेको उनीहरु बताउँछन् । लाखौं मुल्य बराबरका स्याउ खेर गइरहेको छ, किन्ने कोही नआएको र बजारसम्म भरिया लगाएर पुगाउन नसकिजे हुँदा बस्तु भाउलाई दिने गरेको गुनासो पनि गर्छन् ।

बारीमै आएर किन्नेलाई उनले एक रुपैयाँको तीन दाना दिने गरेको बताउँछन् । कसैले तौलेर लग्यो भने किलोको १५ रुपैयाँमा दिने गरेको स्याउखेती गर्ने किसानहरु बताउँछन् । स्वामीकार्तिक खापर गाउँपलिकाबाट कोल्टीमा रहेको बजारसम्म पर्‍याउन भारी बोकेर दुई दिन लाग्छ । कोल्टीको यातायात वर्षायाममा बन्द हुने भएकाले पनि बजारसम्म पुर्‍याउन नसकिएको उनीहरुले बताए ।

बाजुरको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साविकको जगन्नाथ गाविस क्षेत्र र बुढिनन्दा नगरपालिकाकाको साविकको पाण्डुसेन गाविसमा अत्याधिक मात्रामा स्याउ फल्छ ।

त्यस क्षेत्रमा स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको खर्चको एकीन तथ्यांक छैन । किसानहरुले हौसलाका साथ स्याउ फलाए तर बजार नपाएर समस्यामा परेको गुनासो गरेका छन् ।

स्वामीकार्तिक गाउँपालिका र जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ । राम्रो ग्रेडको स्याउको मुल्य किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ । त्यही १५ रुपैयाँ पनि किसानलाई बढी लागेको छ ।

सानो बोटमा पनि लठरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा यातायात नै नभएकाले किसानहरु निरास रहेको गाउँपालिका अध्यक्ष चिरन्जीबी शाहीले बताए ।

यता केहीदिन अघि मात्र जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले बारीबाटै स्याउ ढुवानी गर्ने व्यवस्था गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीका अनुसार बाजुराको हिमाली, स्वामिकार्तीक जगन्नाथ, गाउँपालिका र बुढीनन्दा नगरपालिकामा गत वर्षको तुलनामा ये वर्ष दोब्बर स्याउ उत्पादन भएको छ।

स्याउको उत्पादन बढेपनि बिक्रीको लागि उचित बजार नहुँदा र ढुवानीमा समस्या हुँदा स्याउ कुहिएर खेर जाने गरेको थियो। कृषकलाई स्याउ खेतीमा हौसला र उत्प्रेरित गरेर स्याउ प्रर्वद्धनको लागि खेतबारीबाटै ढुवानीको व्यवस्था मिलाइएको कृषि प्रसार अधिकृत जैशीले बताए।

Facebook Comments

विज्ञापन बक्स