१२ जेठ, रुपन्देही ।
आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् ।
यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।
कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।
कोरोना महामारीका कारण यसपटक बुद्ध जन्मस्थलमा समेत कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन तर बुद्ध जन्मिएको मायादेवी मन्दिरमा भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाहरुले पूजापाठ गर्ने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।
कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कोषले जनाएको छ ।
आज साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको निर्वाण प्राप्तिको कामना गर्दै २५६५औँ दीप प्रज्वलन गरिने कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।