२२ चैत, एजेन्सी । भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ ।
शनिवार बिहान भएको भिडन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको शव भेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चार घण्टासम्म चलेको भिडन्तमा ३७ जना सुरक्षाकर्मी घाइते भएका र अझै एक जना हराइरहेका खबरमा उल्लेख छ ।
शुक्रवार रातिदेखि दुई हजार ५९ जनाको संयुक्त सुरक्षा बलले बीजापुर र सुकमा जिल्लामा रहेको जङ्गलमा माओवादीविरुद्ध अपरेशन चलाएका थिए ।
अपरेशनका क्रममा माओवादीले थापेको धरापमा सुरक्षाकर्मी परेका थिए । धरापमा भएको बम विस्फोटपछि दुई पक्षबीच गोली हानाहान भएको खबरमा उल्लेख छ ।
माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म एक जना महिलाको मात्रै शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो केही वर्षयता छत्तीसगढमा यसलाई माओवादीको सबैभन्दा ठूलो आक्रमण मानिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् ।
प्रधानमन्त्रीले एक ट्वीटमा लेख्नुभएको छ, छत्तीसगढमा माओवादीसँग लड्ने क्रममा सहिद भएका जवानका परिवारलाई मेरो समवेदना छ । वीर सहिदहरूको बलिदानीलाई कहिल्यै भुल्न सकिँदैन । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
भारतका गृह मन्त्री अमित शाह र छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगको मुठभेडमा सुरक्षाकर्मीको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।