१२ चैत्र, एजेन्सी ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।
संकलित नमूनाको परीक्षणबाट भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो ।
अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको प्रभावकारिता कम हुने वा नहुनेबारे अध्ययन गरिरहेका छन् ।
भारतका १८ राज्यबाट संकलित १० हजार ७८७ नमूना मध्ये ७७१ पुष्टि भइसकेका नयाँ भेरियन्ट रहेको थाहा भयो । त्यसमध्ये ७३६ बेलयाती भेरियन्ट, ३४ दक्षिण अफ्रिकी भेरियन्ट र एक ब्राजिलियन भेरियन्ट रहेका छन् ।
स्वास्थ्य अधिकारीहरुले भारतमा हाल बढिरहेको संक्रमणमा यी भेरियन्ट कारक भने नरहेको बताएका छन् ।
भारतमा बुधबार एकै दिन ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भयो र २७५ जनाको ज्यान गयो ।
भाइरसको म्युटेसन नयाँ कुरा नभए पनि डबल म्युटेसन (दुई म्युटेन्ट भाइरसबिचको म्युटेसन) भने जोखिमपूर्ण हुन सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।