भारतमा गोली लागेका सर्लाहीका व्यापारीले २ किलोमिटर मोटरसाइकल चलाए !

855SHARES

३० कात्तिक, सर्लाही । सर्लाहीका एक व्यापारीमाथि भारतीय भूमिमा गोली प्रहार भएको छ । गोली लागेर मलंगवा ९ घर भएका राकेश चौधरी घाइते भएका छन् । चौधरी कवाड व्यापारी हुन् ।

भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला गएराति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलार्इ गोली हानेको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अनलाइनखबरसँग भने, ‘नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा उनलाई गोली लाग्यो । तर पनि उनी मोटरसाइकल चलाएरै नेपाली भूमिमा आए र मलाई गोली लाग्यो अस्पताल लैजाऊ भनेपछि तत्काल अस्पताल पर्‍याइयो ।’

उनले अघि भनेे, ‘अचम्मै भयो । गोली लागेर पनि उनी मोटरसाइकल चलाएरै हिँडे । भाग्य बलियो रहेछ ।’

प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको प्रजिअ कटुवालले बताए ।

चौधरीलाई गोली हान्ने समूह र गोली हान्ने कारण खुलेको छैन । भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रजिअ कटुवालले जानकारी दिए ।                                                                                     onlinekhabar

छुटाउनुभयो कि?

सम्पूर्ण