मधेशीलाई अपमान गर्ने पराजित हुन्छन् ः मन्त्रि मण्डल

660SHARES

विराटनगर, २२ कार्तिक
सरकारका विनाविभागीय मन्त्री तथा बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नं. ५ का प्रत्यक्ष उम्मेदवार शिवकुमार मण्डलले आफ्नो क्षेत्र निर्धारण गर्दा मधेशी जनताप्रति षड्यन्त्र गरिएको बताएका छन् ।

विराटनगरमा आज आयोजित पत्रकारसँग उम्मेद्वार कार्यक्रममा बोल्दै मन्त्री मण्डलले क्षेत्र निर्धारण गर्दा ५ नम्बर क्षेत्रमा बसोबास गर्ने मधेशी जनतालाई भेडाबाख्रालाई जस्तो व्यवहार गरिएको बताका हुन् । ‘क्षेत्र निर्धारण गर्दा नै षड्यन्त्र भएको छ, भेडाबाख्रालाई जस्तो जता काट्दा पनि हुने गरि अस्वभाविक र अवैज्ञानिक तरिकाले क्षेत्र निर्धारण गरिएको छ,’ मन्त्री मण्डलले भने, ‘४५ किलोमिटर लम्बाई भएको ठाउँमा ७ किलोमिटरको हाराहारिमा मात्रै चौडाई राखिएको छ ।’ षड्यन्त्र गर्नेहरुलाई यस पटक जनताले सुझबुझपूर्ण ढंगले मत हाल्ने र आफूलाई जिताउने मण्डलको दाबी छ ।

यस्तै मन्त्री मण्डलले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी हुन नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसको सबैले विरोध गर्नु पर्ने बताए । आफूहरु क्याबिनेटमा उपस्थिति नभएको मौका छोपेर प्रधानमन्त्रीले एकलौटी धनकुटामा मुकाम तोकिएको भन्दै विरोध गरे ।

बामपन्थी गठबन्धनले देशभरबाट दुई तिहाई र १ नम्बर प्रदेशमा बहुमत सिट जित्ने दाबी गर्दै मन्त्री मण्डलले त्यसपछि बन्ने ५ वर्षे स्थायी सरकारले सिंचाई, कृषि क्षेत्रको विकास, शिक्षा तथा हुलाकी राजमार्ग र पर्यटनको विकासमा महत्वपूर्ण फड्को मार्ने बताए ।
मन्त्री मण्डलले आफ्नो क्षेत्रमा सुकुमबासीको समस्या हल गर्ने जनता आवास कार्यक्रम मार्फत नमूना वस्ती निर्माण गर्ने, विराटनगर जुटमिल सञ्चालन गर्नेलगायतका प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै ५ नम्बर निर्वाचन क्षेत्र (क)का उम्मेद्वार ज्ञानेश्वर राजवंशीले जनताको आधारभूत समस्या समाधानका लागि पहल गर्ने बताए । जिर्ण रहेको रंगेली र कर्सिया बजारको विकास तथा औद्योगिकीकरणमा जोड दिने बताउँदै राजवंशीले त्यस क्षेत्रमा धार्मिक पर्यटनको पनि विकास गरिने बताए ।

यस्तै ५ नम्बर निर्वाचन क्षेत्र (ख)का उम्मेद्वार सुभान मियाँले सडकको विस्तार तथा जनताको क्षमता अभिवृद्धिका लागि आफू लागि पर्ने बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण