२३ जेठ, काठमाडौं ।
नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ ।
शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।
शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने अभिव्यक्ति दिएका थिए । महतोको यो अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी भएको निष्कर्ष नेपाल समूहको बैठकले निकालेको छ ।
माधव समूहका १८ जनसंगठनले पनि संयुक्त वक्तव्य जारी गरेर महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
वक्तव्यमा महतोले संविधान विरोधी अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री ओलीको मौनता र अनभिज्ञताप्रति आश्चर्य समेत प्रकट गरिएको छ ।
त्यस्तै माधव समुहकै स्थायी कमिटी सदस्यले विज्ञप्ती निकाल्दै महतोको अभिव्यक्ति संविधानको भावन विपरित भएको उल्लेख गरिएको छ ।