महानगरले कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग गर्‍यो सम्झौता

158SHARES

१ जेठ , काठमाडौं । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।

महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन् ।

महानगरले शुक्रबार यी अस्पतासँग कोभिड सङ्क्रमणसँग लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै सम्झौता गरेको हो । यसअघि महानगरपालिकाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकिएको छ । सबै सम्झौता महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालका तर्फबाट सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण