१० चैत, काठमाडौँ । पर्यटन विभागले माउन्टेन गाइड अर्थात् पर्वतीय पथ प्रदर्शकहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ ।
विभागले पर्वतारोही कामी रिता शेर्पालाई परिचय पत्र उपलब्ध गराएर पथ प्रदर्शकका लागि परिचयपत्र वितरण सुरु गरेको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।
शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हन् । विभागले नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन थालेको निर्देशक आचार्यले बताए ।
विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुने छ । विभागले अनुमतिपत्र वितरणका लागि गएको चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो ।
कामी रिता शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराएको उनले पहिलो अनुमतिपत्र प्राप्त गरेको र आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको पनि निर्देशक आचार्यले बताए ।
अनुमतिपत्रका लागि दुई सयभन्दा बढीको आवेदन परेको विभागले जनाएको छ ।