विराटनगर, फागुन १८
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले केही मिडिया जनतालाई भ्रम फैलाउले काममा लागिपरेको आरोप लगाएका छन् । नेपाल टेलिभिजनले इटहरीमा आयोजना गरेको पुनर्ताजगी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिडिया थप विश्वसनीय हुनुपर्ने बताए ।
अहिले केही अनलाइन मिडियाहरू जबर्जस्त नकरात्मकताको खोजी र खेती गर्न लागेको उनको भनाइ छ । मुख्यमन्त्री राईले देशको मुख्य एजेन्डा विकास र समृद्धि रहेकाले त्यसमा मिडियाले सकारात्मक आलोचना गर्न सक्नुपर्ने बताए ।
प्रदेश सरकारप्रति जनताको विश्वास बढिरहेको भन्दै उनले प्रदेश १ लाई देशभरिकै नमुना प्रदेश बनाइने बताए । केही विषयमा संघीय सरकारको ढिलासुस्तीका कारण पनि काम गर्न समस्या परिरहेकोे उनले बताए । अब चाँडै नै परियोजना बैंक स्थापना गरेर लगानी सम्मेलनको आयोजना गर्न प्रदेश सरकार लागि परेको उनको भनाइ छ ।