२ कार्तिक, दमौली ।
दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहेका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ ।
अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहेका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो । उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ ।
रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।
यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ ।
सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए ।
मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताए । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आएका छन् ।