२ फागुन, काठमाडौं । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले अनुमति दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार इस्लामिक सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा कार्यक्रम गर्न गृह मन्त्रालयले अनुमति दिएको छ । नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो ।
माघ ६ गते सम्मेलनका लागि अनुमति दिँदा नै सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्त राखिएको प्रवक्ता शर्माले बताए । सम्मेलनमा विदेशी नागरिकहरु पनि भेला हुन थालेपछि सम्मेलनको जिम्मा लिएको संवैधानिक निकाय मुस्लिम आयोगलाई पत्राचार गरी सर्त पालना नभएको भन्दै सम्मेलन रोक्न पत्राचार गरिएको थियो ।
इज्तिमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बंगलादेश र पाकिस्तानवाट आएका धर्मगुरु र सहभागीहरुलाई फर्काइने बताए । उनले ती मुलुकबाट कति संख्यामा धर्मगुरु र सहभागी आएका छन् त्यसको तथ्यांक संकलन गरिरहेको जानकारी दिए ।
सप्तरीका सुरक्षा अधिकारीहरुका अनुसार सम्मेलनमा पाकिस्तान, बंगलादेश, कतार, दुबई र मलेसियालगायतका देशबाट समेत सहभागीहरु आएका छन् । सयभन्दा बढी संख्यामा आएका विदेशी सहभागीहरुलाई तत्काल फर्काउन प्रशासनले आयोजकलाई आग्रह गरेको छ ।