मोरङमा बाम गठबन्धनको भागबण्डा सकियो

649SHARES

विराटनगर, १3 कार्तिक
बाम गठबन्धनले मोरङका ६ वटा प्रतिनिधि सभा र १२ वटा प्रदेश सभाका लागि सिट बाँडफाँडमा सहमति गरेका छन् । सहमतिअनुसार एमालेले ४ प्रतिनिधिसभा र ६ प्रदेश सभा पाउने भएको छ भने माओवादी केन्द्रले २ प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा पाउने सहमति भएको छ ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शिवकुमार मण्डलले दिएको जानकारी अनुसार प्रतिनिधिसभा अन्तर्गत ४ र ५ नम्बर क्षेत्रमा माओवादीलाई एमालेले सघाउने छ भने १, २, ३ र ६ नम्बर क्षेत्रमा एमालेलाई माओवादी केन्द्रले सघाउने छ ।

यस्तै प्रदेशमा क्षेत्र नम्बर १, २, ३, ४ र ६ को क तथा क्षेत्र नम्बर ५ को ख निर्वाचन क्षेत्र माओवादीले लिने सहमति भएको छ । एमालेले भने ५ नम्बर क्षेत्रको क र अन्य क्षेत्रको ख निर्वाचन क्षेत्र लिने भएको छ ।

सिट बाँडफाँडमा टुंगो लागेसँगै माओवादी केन्द्रले उम्मेद्वारको पनि टुंगो लगाएको छ । माओवादी नेता मण्डलका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं. ४ मा नेता सावित्रीकुमार काफ्ले र क्षेत्र नं. ५ मा शिवकुमार मण्डलको टुंगो लागेको छ । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ को क कुलप्रसाद साम्बा (कुशल लिम्बू), क्षेत्र नं. २ को क गणेश उप्रेति(शुशिल), क्षेत्र नं. ३ को क गिता तिम्सिना, क्षेत्र नं. ४ को क विजय विश्वास थारु, क्षेत्र नं. ५ को ख टुंगो लाग्न बाँकी छ भने क्षेत्र नं. ६ को क मा जीवन आचार्य उम्मेद्वार बन्ने पक्का भएको हो ।

यता नेकपा एमालेले भने उम्मेद्वारको टुंगो लगाइनसकेको जनाएको छ । सिटको बाँडफाँड भर्खरै सकिएकोले भोलिसम्ममा उम्मेद्वारको टुंगो लाग्ने एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताउनु भयो । ‘भर्खर सिट बाँडफाँड टुंगिएको छ,’ ढकालले भन्नुभयो, ‘भोलिसम्ममा उम्मेद्वारको पनि टुंगो लगाउँछौं ।’ एमालेले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा टुंगो नलगाए पनि क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल र ६ बाट लालबाबु पण्डितको नाम टुंगो लगाइसकेको बताइएको छ ।

यस्तै क्षेत्र नम्बर १ मा भने रुपेश खतिवडा तथा शिवमाया तुम्वाहाम्फेमध्ये एक जना उम्मेद्वार बन्नसक्ने एमालेस्रोतले जनाएको छ । प्रदेश सभाका लागि भने आकांक्षी धेरै भएका कारण एमालेलाई उम्मेद्वार टुंगो लगाउन हम्मे हम्मे परको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण